बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

 मकवानपुर - बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री लामाले राखेका विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा उपस्थित एक सय तीन जना प्रदेशसभा सदस्यमध्ये ६४ मत परेको थियो । प्रस्तावको विपक्षमा ३५ र तटस्थमा तीन मत परेको सभामुख भूवनकुमार पाठकले जानकारी दिए ।

विश्वासको मतका पक्षमा सत्ता गठबन्धन दल नेपाली कांग्रेसका ३७ र नेपाल कम्युनिष्ट पार्टी एमालेको २७ गरी जम्मा ६४ मत खसेको हो । यसैगरी विपक्षमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपाका प्रदेशसभा सदस्यले मतदान गरेका थिए भने नेपाल मजदुर किसान पार्टीका तीन जना तटस्थ बसे । बैठकमा हाम्रो नेपाली पार्टीको दुई र राप्रपाका पाँच गरी सात जना अनुपस्थित रहे । बागमती प्रदेशसभा एक सय १० सदस्यीय छ ।

प्रदेशसभाको अर्को बैठक भोलि साउन १६ गते अपराह्न १ बजे बस्नेगरी सभामुख भुवनकुमार पाठकले आजको बैठक स्थगित गरे ।