नेपाल आइडल परियारलाई बधाई तथा शुभकामना 

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल आइडल (सिजन–५)  का विजेता करण परियारलाई बधाई दिएका छन् ।

अध्यक्ष ओलीले आज नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा नेपाल आइडल करण परियार र उपविजेताहरू क्रमशः सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजेललाई बधाई तथा शुभकामना दिएका छन् ।

अध्यक्ष ओलीले नेपाल आइडल करण परियारलाई नेपालको मौलिक र पुरानो बाजा सारङ्गी उपहार पनि दिएका छन् । 

सो अवसरमा सङ्क्षिप्त शुभकामना दिँदै अध्यक्ष ओलीले यस सफलतालाई शुरुवात मानेर प्रतिभाशाली कलाकारहरूले सफलताका पाइलाहरू अगाडि बढाउनेछन् भन्नेमा विश्वास समेत व्यक्त गरे ।

उनले सङ्गीत विधाका नक्षत्रलाई व्यक्तिगत, नेकपा (एमाले) र सबै नेपालीका तर्फबाट बधाई दिए । अध्यक्ष ओलीले कला, संस्कृति, भाषा देशको सबैभन्दा ठुलो पहिचान हो भन्नुहुँदै करण परियार लगायत नयाँ प्रतिभाहरूबाट यसलाई माथि उठाउने काम भएकोमा खुशी व्यक्त गरे ।