रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

 काठमाण्डौँ - रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । टिकापुर हत्याकान्डमा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले आइतबार सर्वोच्चमा रिट दिएकी थिइन् ।  तीनवटै तहका अदातलबाट दोषी ठहर भएका चौधरीलाई आममाफी दिएको भन्दै उनले पेस गरेको रिट मंगलबार दर्ता भएको हो । सर्वोच्चले दुई दिनको अध्ययनपछि रिट दर्ता गरेको हो । 

सरकारले चौधरीलाई आममाफी दिने तयारी गरेपछि शारदाले रिट पेस गरेकी थिइन् । उनको रिट दर्ता नहुँदै चौधरी आममाफी पाएर जेलमुक्त भइसकेका छन् । उक्त रिटको पेसी बुधबारका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् ।