काठमाडौँबाट म्याग्दी जाँदै गरेको बस कास्कीमा पल्टिँदा सात जना घाइते

काठमाडौँ । गएराति काठमाडौँबाट म्याग्दीतर्फ जाँदै गरेको बस कास्कीमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माका अनुसार आज बिहान पौने चार बजे अन्नपूर्ण गाउँपालिका-१ लेवाडेमा बा५ख २८५ नम्बरको बस बस पल्टिएको हो ।

‘बसमा चालकसहित १३ जना सवार रहेछन् । त्यसमध्ये सातजना घाइते भएका छन्,’ शर्माले भने, ‘घाइते चार जनाको मणिपाल अस्पताल पोखरा र तीन जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइहेको छ ।’

दुर्घटनामा म्याग्दीको मालिकाका ३९ वर्षीय टकबहादुर कामी, म्याग्दीकै मंगला गाउँपालिका वडा नम्बर-१ निस्कोटका ४५ वर्षीय प्रेम पुन, मालिका वडा नम्बर-८ का ५७ वर्षीय तिलक शर्मा, दरबाङकी १५ वर्षीया सबिता श्रीपाली, दरबाङकै १७ वर्षीया भीमसेन अधिकारी, मंगला गाउँपालिका- १ सिमह बस्ने वर्ष ५७ की हरी केसी र म्याग्दीकै २५ वर्षीया रञ्जना हमाल घाइते भएका छन् ।

दुर्घटनामा बसका चालक पर्वतको जलजला गाउँपालिका वडा–८ बस्ने ३६ वर्षीय बलबहादुर फगामी मगर पनि घाइते भएका शर्माले बताए ।