काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्यो

काठमाडौँ । काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी कुरिनटारबाट त्रिशूली नदीमा खसेको छ । आज बिहान बा२ज ४१ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो ।

आज बिहान इच्छाकामना गाउँपालिकाको मुग्लिन बजारबाट एक किलोमिटर कुरिनटारतर्फको सडकबाट ट्याक्सी नदीमा खस्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

ट्याक्सीमा सवार अन्य ४ जना बेपत्ता रहेको प्रहरीको भनाइ छ । मृतक पुरुष हुन् ।

उनका अनुसार ट्याक्सीमा चालकसहित ५ जना यात्रु रहेको अनुमान गरिए पनि यकिन संख्या थाहा छैन ।

अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण कुरिनटारको टोलीले घटनास्थलमा पुगेर ट्याक्सीमा सवार यात्रुहरूको खोजी थालेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।