आज सहिद दिवस, देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आज शहीद सप्ताहको अन्तिम दिन शहीद दिवस । देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ ।

प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाउने गरिएको छ ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका विभिन्न काल खण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूप्रति सम्झना गर्दै यो दिवस मनाइँदै आइएको छ।

वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानको स्मरणमा शहीद दिवस मनाइएको हो।

निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदको स्मरणमा विभिन्न गैरसरकारी सङ्घसंस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ पनि मनाइन्छ।।

विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहीदको साहस र त्यागको पनि लेखाजोखा र उच्च मूल्याङ्कन गर्दै माघ १६ लाई शहीद दिवसका रुपमा मनाइएको हो।

शहीद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । यस्तै धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते झुण्ड्याएको थियो भने गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा गोली हानी मारिएको थियो ।

देशका यी महान सपुतहरुको सम्झनामा हरेक वर्षको माघ १६ गतेलाई शहीद दिवसका रुपमा मनाउने चलन २०१० सालदेखि शुरु भएको हो ।