घरायसी विवादमा श्रीमती र बुहारीको हत्या, दुई जना पक्राउ

काठमाण्डौँ - सिरहाको छुट्टाछुट्टै स्थानमा दुई महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक महिलाका श्रीमान् र ससुरालाई पक्राउ गरी सार्वजनिक गरेको छ । हत्या आरोपमा पक्राउ परेका सिरहा नगरपालिका(१५ सुखचैना गाउँका ४० वर्षीय देवेन्द्र यादव र कल्याणपुर नगरपालिका ८ बड्की टोलका ५१ वर्षीय रामअशिष दासलाई सिरहा प्रहरीले आज सार्वजनिक गरेको हो । 

यादवविरूद्ध श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोप छ भने दासविरूद्ध बुहारीलाई बञ्चरो प्रहारी गरी हत्या गरेको आरोप छ । प्रहरीका अनुसार मंसिर ७ गते राति १० बजे बाँसको भाटा र इँटा प्रहार गरी यादवले ३० वर्षीया श्रीमती सञ्जितालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । कुटपिटबाट उनको घरमै मृत्यु भएपनि संजितालाई उपचार गराउन भन्दै यादवले भारतको जयनगरतर्फ लगेका थिए ।

भोलिपल्ट छिमेकीले सूचना दिएपछि ८ मंसिरको बिहान सुखचैना पुगेको प्रहरीले थप अनुसन्धान गर्दा कुटपिटको क्रममै संजितको मृत्यु भएको र उपचारको बहानामा शव भारत लगेको खुलेको सिरहाका डिएसपी रविन्द्रराज पाण्डेयले जानकारी दिए ।

उनका अनुसार प्रहरी चौकी खिरौना, इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले माडरको बोर्डर क्षेत्रबाट गत शनिवार देवेन्द्रलाई पक्राउ गरी सोधपछु गर्दा श्रीमतीको शव भारतमै फालेर आएको बताएका थिए ।