आजको शेयर बजार राताम्मे : १० दिनपछि खुलेको नेप्से २८ अङ्कले घट्यो, ७४ करोडको कारोबार

 काठमाण्डौँ - १० दिनपछि खुलेको शेयर बजार आज आइतवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । दशैँ र अन्य बिदाका कारण गएको २ गतेपछि आज खुलेको बजार २८ दशमलव १८ अङ्कले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि शेयर बजार परिसूचक नेप्से आज एक हजार आठ सय ७५ दशमलव ६५ विन्दुमा झरेको छ ।

आज जलविद्युत्, होटल र उत्पादन समूहको शेयर उच्च अङ्कले घटेको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । यस्तै नेशनल हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयर नौ प्रतिशत र सीवाईसी नेपाल लघुवित्त कम्पनीको शेयर साढे छ प्रतिशतले बढेको छ ।

आज २७ लाख १२ हजार कित्ता शेयर ७४ करोड २९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको चार करोड आठ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।