पहिरोका कारण एम्बुलेन्स बाटोमै रोकिँदा दुई बिरामीको मृत्यु, शव तीन दिनदेखि एम्बुलेन्समै  

काठमाडौँ । पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिँदा बाटोमै दुई बिरामीको मृत्यु भएको छ । सिन्धुलीबाट बिरामी बोकेर काठमाडौँ तर्फ आउँदै गरेका एम्बुलेन्सहरू बाढी र पहिरोका कारण बीच सडकमै रोकिँदा दुई बिरामीको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका-४ घरभ भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका-८ का ४५ वर्षीय मानबहादुर सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार भुजेलको शुक्रबार र सिँजालीको शनिबार बिहान एम्बुलेन्समै मृत्यु भएको हो ।

सिन्धुली सदरमुकामबाट बिरामी लिएर काठमाडौँ हिँडेका पाँच वटा एम्बुलेन्समध्ये दुईवटाका बिरामीको मृत्यु भएको हो ।

सिन्धुलीको सुनकोसी गाउँपालिका १ दुम्जानजिकै बाढी र पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध हुँदा बिहीबारदेखि बीचबाटोमै एम्बुलेन्स रोकिएको थियो । बाटोमा अलपत्र पर्दा अन्य तीनवटा एम्बुलेन्सका बिरामीको अवस्थासमेत नाजुक बन्दै गएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने बिरामी मध्ये सिंजाली मिर्गौलाको बिरामी रहेको पाइएको एसपी काफ्लेले बताए । भुजेललाई बा२१च ७५२३ नम्बरको र सिंजालीलाई ज१च १७०८ नम्बरको एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौँ ल्याइँदै थियो ।

एम्बुलेन्सहरू बीचबाटोमै फसेपछि बिरामीको मृत्यु हुँदा आफन्तहरू समेत अफ्ठेरोमा परेका छन् । बिरामीको समयमा उपचार हुन नसकेर मृत्यु भएको र मृत्यु भएपछि पनि समयमा शव निकाल्न नसक्दा एम्बुलेन्समै गनाउन थालेको एम्बुलेन्स चालकहरू बताउँछन् ।