झ्याप्ले खोला पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुग्यो  

काठमाडौँ । धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

अहिलेसम्म सुरक्षाकर्मीहरुले तीन वटा फरक गाडीबाट ३५ जनाको शव निकालेका छन् । शनिबार साँझ झ्याप्ले खोलामा पहिरोले गाडी पुरिएको देखिएपछि उत्खनन् सुरु भएको थियो । सो क्रममा शनिबार राति १४ वटा शव सुरक्षाकर्मीले निकालेका थिए । जसमध्ये ८ पुरुष र ६ महिला थिए ।

लु १ ख ४५७८ नम्बरको विंगरबाट शनिबार १४ वटा शव निकालिएको थियो । उक्त विङगर गाडी बुटवलबाट काठमाडौंका लागि छुटेको थियो ।

त्यसैगरी आइतबार थप दुई वटा गाडीबाट २१ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले दिए ।

नारायणघाटबाट काठमाडौँ आउँदै गरेको ना२ख १३४५ नम्बरको माइक्रो बसबाट १६ वटा शव निकालिएको उनले बताए । ती मध्ये १२ जना पुरुष र ४ जना महिला छन् ।

त्यसैगरी गोरखाबाट काठमाडौँ आउँदै गरेको ना४ख २२७० नम्बरको बसबाट ५ जना शव निकालिएको छ । मृतक चारै जना पुरुष रहेको एसपी अधिकारीले बताए । जम्मा ३५ वटा शव निकालिएकोमा २५ पुरुष र १० महिला छन् ।

निकालिएको सबै शवहरु त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ ।