पानीजन्य रोगको जोखिम बढ्ने भन्दै सचेत रहन मन्त्रालयको आग्रह  

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्का बेलामा पानीजन्य रोगको जोखिम बढ्ने हुँदा सचेत रहन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै प्राकृतिक विपद्का बेला प्रदूषित भई निम्त्याउन सक्ने पानीजन्य रोगहरूको जोखिम बढ्ने हुँदा सचेत रहन आग्रह गरेका हुन् ।

उनका अनुसार यो मौसममा पानीजन्य रोग जस्तै झाडापखाला, हैजा र कीटजन्य रोगमा डेंगु, मलेरियाको जोखिम बढ्ने गर्छ ।

यस्ता रोगको लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्ने आग्रह गरे । साथै सरोकारवाला निकायलाई सतर्कता अपनाउनुहुन पनि उनले आग्रह गरे ।

साथै आपत्कालीन अवस्थामा स्वास्थ्यसम्बन्धी कुनै पनि समस्याको बारेमा जानकारी आवश्यक परेमा १११५ मा सम्पर्क गर्न मन्त्रालयको आग्रह छ ।

आपत्कालीन अवस्थामा स्वास्थ्य संस्था जानुपरेमा तालीम प्राप्त एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीसहितको एम्बुलेन्सको हटलाइन न १०२ मा सम्पर्क गर्न मन्त्रालयको अनुरोध छ ।