काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रचलित कानुन बमोजिम नै रेशम चौधरीलाई कैद माफी दिएको बताएका छन् ।
आज (मंगलबार) संसदमा भएको प्रश्नोत्तरमा सांसद एकनाथ ढकालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायबारे प्रश्न गरेका थिए । जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सरकार विधिको शासनमा प्रतिवद्ध रहेको र अदालतको निर्णयको सम्मान गर्दै कार्यान्वय गर्दै आएको बताए ।
संक्रमणकालीन न्यायसम्पादन गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उनले संसदमा दर्ता भएको विधेयक पारित भएसँगै संक्रमणकालीन न्यायका मुद्दा सम्बोधन हुने विश्वास व्यक्त गरे । गंगामाया अधिकारीलाई मानवीय सेवा र संरक्षण दिइएको भन्दै उनले भने, ‘अस्पतालको विवरणअनुसार निजको स्वास्थ्य अवस्था समान्य रहेको र उपचारका लागि सरकारले ३७ लाख ४७ हजार रुपैयाँ उपलब्ध गराएको जानकारी गराउन चाहन्छु ।’