नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार बादलका छोरा प्रतिक पछि बेचन झा पक्राउ

काठमाठौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार थप एक जना पक्राउ परेका छन् । शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले फरार रहेका बेचन झालाई पक्राउ गरेको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ परेका झामाथि बिचौलियालाई गृहमन्त्री, सचिव लगायतसँग भेट गराई दिन मध्यस्थकर्ताको रूपमा भूमिका खेलेको आरोप छ । परिसरले गरेको पहिलो चरणको अनुसन्धानमा उनी पक्राउ परेका थिएनन् ।

शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरूबाट बेचन झाले दुई करोडको चेक बुझेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनले टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीसँग दुई करोडको चेक लिएका हुन् । 

भुटानी शरणार्थी प्रकरणको योजनाकार मध्येका सानु भण्डारीले भनेर आफ्नो नाममा रहेको हिमालयन बैंकको दुई करोडको चेक झालाई दिएको रामशरणले बयानमा खुलाएका छन् । केसीका अनुसार २०७८ मंसिर ८ मा नयाँ बानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि झाले चेक बुझेका हुन् ।