गुल्मीमा पहिरोमा पुरिएका एकै परिवारका पाँचजनाको मृत्यु    

काठमाडौँ । गुल्मीको मालिका गाउँपालिका–६ मा पहिरोमा पुरिएका एकै परिवारका पाँचजनाको मृत्यु भएको छ।

मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गएराति पहिरोले पुर्दा उनीसहित पाँचजनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार ५६ वर्षीय भेषबहादुर, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपनाको मृत्यु भएको हो।

पहिरोमा पुरिएका सबैको शव निकालिसकिएको प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए। पहिरोमा पुरिएकारूको खोजीका लागि इस्मा प्रहरीचौकीबाट  टोली घटनास्थलमा पुगेको थियो।

सदरमुकाम तम्घासबाट पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।