उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री फङबीच भेटवार्ता

काठमाण्डौँ - जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको छ । सिचुवान प्रान्तको राजधानी छेन्दुमा आज भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको थियो ।

दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउनेबारेमा विचारविमर्श भएको थियो । थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको थियो ।

यस्तै चिनियाँ सहयोगमा नेपालमा निर्मित परियोजनालाई छिटोछरितो ढङ्गबाट सम्पन्न गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको छ । दुवै पक्षबीच प्राकृतिक प्रकोप एवं विपद्को सामना गर्न मिलेर अगाडि बढ्ने समझदारी जुटेको छ ।