‘प्रेमी’ले नग्न भिडिओ पठाएपछि पशुपतिले आत्महत्याको बाटो रोजिन

काठमाडौ - गत आइतबार बैतडीको दोगडाकेदार गाउँपालिका–२ पातलीकी १६ वर्षीया पशुपति महरा घरनजिकैको खालीपातल सामुदायिक वनभन्दा केही तल रुखमा झुण्डिएको अवस्थामा मृत भेटिइन ।

घरको जेठो सन्तान पशुपति कफलकोटस्थित रौलेश्वर माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्थिन् । उनी घरमा आमा र भाइसँग बस्थिन् । बुवा कामको सिलसिलामा भारतमा थिए । तर, छोरीको दुःखद् घटनापछि हाल उनको बुवा घर फर्किसकेका छन् ।

पशुपतिलाई गुमाउँदा महरा परिवार विक्षिप्त छ । 

पशुपतिले आत्महत्या गर्नुअघि दुई पाना लामो सन्देश छाडेकी छन् ।  उनको कोठामा भेटिएको उक्त सन्देशमा परिवारका सदस्य र इष्टमित्रलाई सम्झदै क्षमा मागेकी छन् । आत्महत्याको कारण भने खुलाएकी छैनन् ।


आमालाई बुवाको स्वास्थ्यमा ख्याल गर्न भनेकी छन् । उनले लेखेकी छन्, ‘…भाइको  गायक बन्ने सपना पूरा गरिदिनू है…।’ त्यस्तै पशुपतिको कोठामा भेटिएको कापीमा ‘प्रकाश बलायर र उनको पासवर्ड’ लेखिएको पाइएको समेत छ ।

जसानुसार प्रकाश बलायर नामका युवकसँग उनी ‘प्रेम सम्बध’मा रहेको पाइएको छ । यसबारे पशुपतिको परिवारलाई भने जानकारी नभएको खुलेको छ । उनीहरूले एकआपसमा फेसबुकको पासवर्डसमेत साटासाट गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘फेसबुक म्यासेन्जरमा उनीहरूबीच कुराकानी भइरहन्थ्यो । मायामा चुर्लम्म डुबेकी पशुपतिलाई ललाईफकाई भिडिओ कलमा नग्न हुन बाध्य पारिन्छ । त्यस्ता भिडिओ र तस्बिर फेला परेका छन्,’ पारिवारिक स्रोत बताउँछ ।

पशुपतिका ती गोप्य भिडिओ र तस्बिर फेसबुक म्यासेजर ग्रुपमा पठाइयो । बेइज्जत भएपछि पशुपति आत्महत्याको बाटो रोज्न बाध्य भएको पारिवारिक स्रोत बताउँछ । शनिबार बेलुका ६ बजेतिर सो भिडिओ ग्रुपमा पठाएको रहेछ ।

पीडित परिवारले सामाजिक सञ्जालमा सार्वजनिक गरिएका गोप्य ‘भिडिओका स्क्रिन सट’लगायत सम्पूर्ण विवरण प्रहरीलाई बुझाएको छ । उनीहरूले घटनाको सत्य, तथ्य छानबिन गरेर दोषीलाई कारबाही माग गरेका छन् ।