विपन्न महिलाहरुको मिटरब्याजलगायतका ऋणहरु मिनाहा गरिदिने मन्त्री चौधरीको घोषणा 

काठमाडौँ । महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाहरुको मिटरब्याजलगायतका ऋणहरु मिनाहा गरिदिने घोषणा गरेकी छन्।

वडा स्तरबाट विपन्न महिलाहरुको पहिचान गरी उनीहरुको मिटरब्याजलगायतका ऋणहरु मिनाहा हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउन लागेको जानकारी दिएकी हुन्।

पछाडि परेका महिलाहरुलाई अघि बढाउन पनि आफूले मन्त्रालयको तर्फबाट सो कार्यक्रम ल्याउन लागेको मन्त्री चौधरीको भनाई थियो। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महिला मन्त्रालयमा बजेटको अभावका कारण सोचेअनुसार काम गर्नसक्ने स्थिति नभएको पनि स्मरण गराइन्।

मन्त्री चौधरीले जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगेटको महिला मन्त्रालयको लागि बजेट बढाउने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको पनि बताईन्।

मन्त्री चौधरीले महिलाहरुको सशक्तिकरणका लागि बजेट बढाउनका लागि सम्बन्धित मन्त्रालयहरुबीच छलफल भइरहेको पनि बताइन्।