कपनबाट पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पराङदेवा पक्राउ

काठमाडौँ  । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ।

आज (शुक्रवार)  पेस्तोलसहित ताप्लेजुङको फुङ्लिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने गरेको अभियोगमा लिम्बूलाई पक्राउ गरिएको हो ।

प्रहरीले पक्राउ परेका लिम्बूसँग कटुवा पेस्तोल एक थान, धारिलो चक्कु दुई थान, फलामको हम्बर एक थान, मोबाइल दुई थान र आइफोन एक थान बरामद गरेको परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। 

पक्राउ परेका लिम्बूसँग सोधपुछ र अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।