क्रिप्टो करेन्सी प्रकरण : पक्राउ परेका ५ मध्ये ४ जना जेल चलान

काठमाडौं - अवैध क्रिप्टो करेन्सी प्रकरणमा पक्राउ परेका पाँच जनामध्ये चार जना जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले आइतबार चार जनालाई जेल चलान गर्न आदेश दिएको हो ।

अदालतले झनिन्द्र प्रसाद खतिवडा बाहेक प्रतिवादीहरू रूपेश श्रेष्ठ, आशिष् अग्रवाल, मीन बहादुर जिसी र कुमार परियारलाई थुनामा पठाउने आदेश छ ।

रुपेश श्रेष्ठ, आशिष अग्रवाल लगायतका पाँच व्यक्तिले कुल २ खर्ब ८६ अर्ब ४ करोड बराबरको कारोबार गरेको पाइएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत् अदालतमा मुद्दा दायर गरेको थियो ।

रुपेश श्रेष्ठ, आशिष अग्रवालसहितका ५ जना व्यक्तिहरुले करिब ३ खर्ब रुपैयाँको क्रिप्टोकरेन्सी, अनलाइन बेटिङ र हुण्डीको कारोबार गरेको पाइएपछि सीआइबीले उनीहरुमाथि अनुसन्धान गरेको थियो ।

सीआइबीको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल काठमाडौंका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले माघ ७ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए ।