यस्तो  छ आजको मौसम : उच्च पहाडी तथा हिमाली भू- भागमा हिमपात, तराईमा हुस्सु र कुहिरो

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ । साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध छ ।

काठमाडौं उपत्यकामा चिसो बढ्दो क्रममा छ । केही दिनअघिदेखि क्रमशः घट्दै गएर न्यूनतम तापक्रम २.२ मा झरेको काठमाडौंको तापक्रम आइतबार त्यसभन्दा पनि तल झरेर २.१ डिग्रीमा आएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले आइतबार काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम २.१ डिग्री अभिलेख भएको बताए । आइतबार सबैभन्दा कम जुम्लामा माइनस ४.९ र जोमसोममा माइनस ४.५ डिग्री मापन भएको थियो ।

आइतबार तराईमा भने केही राहत महसुस गरिएको थियो । उच्च बादल अर्थात् पातलो बादल (हाई क्याउड) देखिएकाले तराईमा हुस्सु मात्रै रहेको तर बाक्लो कुहिरो नदेखिएकाले केही न्यानो महसुस भएको उनले जानकारी दिए । यो हाई क्लाउडले पानी भने नपार्ने उनले बताए ।