एक हप्ता १० दिन भित्रमा  बन्द रहेका उद्योग सञ्चालन गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो समयदेखि बन्द रहेका उद्योगहरू अबको एक हप्ता वा १० दिन भित्रमा सञ्चालन गरिने तयारी भइरहेको बताएका छन् ।

प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकलाई आज पर्साको वीरगञ्जमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले लामो समयदेखि बन्द रहेका विराटनगर जुट मिल, हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटबल धागो उद्योग सञ्चालन गर्ने गरी काम अघि बढाइएको बताए ।

जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी, जनता केन्द्रित बनाउने स्पष्ट पारे ।

आफ्नो ध्यान आगामी वर्षका लागि जनता केन्द्रित र सहभागितामूखि नीति, कार्यक्रम र बजेट निर्माणमा गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको पक्षमा बजेट निर्माण गरेर ‘आमूल सुधार’ गरिने विश्वास दिलाए । नीति तथा कार्यक्रम बनाउँदा स्थानीय र प्रदेश सरकार एवं मन्त्रालयहरूको पनि रायसुझाव लिइने बताउदै उनले अब नयाँ तवरले सरकार अगाडि बढ्ने बताए ।

सरकारले भ्रष्टाचार, भूमाफिया र मिटरब्याजविरुद्ध सशक्त कदम चालेको भन्दै प्रधानमन्त्रीले सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्र, स्वरोजगारी तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेट्ने महत्वपूर्ण कार्य सरकारले गरेको जानकारी दिए।