रास्वपाले फिर्ता लियो संसदीय समिति सभापतिको उम्मेदवारी

भाद्र ११, काठमाण्डौँ ।  प्रतिनिधिसभा अन्तर्गतको उद्योग समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्योग समितिको सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिँदै समर्थन गरेपछि जनमत पार्टीका खान निर्विरोध निर्वाचित भएका हुन् ।

यसअघि उद्योग समितिको सभापतिमा रास्वपाका गणेश पराजुलीले उम्मेदवारी दिएका थिए । नयाँ दल र तराई–मधेशबाट प्रतिनिधित्व गर्ने भएकाले रास्वपाले उम्मेदवारी फिर्ता लिएर खानलाई समर्थन गरेको बताएको छ । योसँगै प्रतिनिधिसभाअन्तर्गतका १० वटै संसदीय समितिको सभापति निर्विरोध निर्वाचित भएका छन् । नव निर्वाचित समितिका सभापतिहरूको शपथ ग्रहण आजै साढे ४ बजेका लागि तय गरिएको संसद सचिवालयले जनाएको छ ।