सुनकोशीमा बेपत्ता भक्तपुरका तीन युवाको अवस्था अझै अज्ञात

काठमाडौँ - सुनकोशी नदीमा जीप खस्दा शनिबारदेखि बेपत्ता भएका भक्तपुरका तीन जना युवाको अवस्था पाँच दिन बितिसक्दा समेत अज्ञात रहेको छ । घटना लगत्तैदेखि निरन्तर खोजी जारी राखे पनि उनीहरुलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताएका छन् ।  बेपत्ता युवाको खोजीमा प्रहरीको गोताखोर टोली, जनपद प्रहरी र स्थानीय खटिरहेका छन् । 

गएको शनिबार साँझ खोटाङको हलेसी महादेव मन्दिरको दर्शन गरेर काठमाडौँ फर्किंदै गरेका चार युवा सवार प्रदेश– ३।ख ०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो ।

उक्त गाडीलाई आइतबार सुनकोशी नदीबाट निकालिएको थियो । गाडीमा सवार भक्तपुर सूर्यविनायक नगरपालिकाको जगाती घर भएका गाडी चालक ३२ वर्षीय अबिन बडे, ३० वर्षीय प्रनित स्यागू र ३७ वर्षीय बलराम घटुवा नदीमा बेपत्ता छन् । सोही गाडीमा सवार भक्तपुरकै २७ वर्षीय सुशान्त कक्षपतिले भने दुर्घटना हुँदा सडकमा हामफालेर ज्यान जोगाएका छन् ।