संसदमा एमाले र माओवादी केन्द्रका सांसदबीच ‘भनाभन’

काठमाण्डौँ - प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्र र एमालेका सांसदहरुबीच विवाद भएपछि संसद बैठक अवरुद्ध भएको छ । नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा माओवादी जनयुद्धलाई हिंसा भन्ने शब्द प्रयोग गरेको भन्दै माओवादी केन्द्रका सांसदहरुले आपत्ति गरेका थिए ।

त्यसपछि संसदमा माओवादी केन्द्र र एमालेका सांसदहरुबीच भनाभन भएको थियो । डेडिकेटेड र ट्रङ्क लाइनको विवादमा बोलेका भट्टराईले देशमा माओवादी हिंसा १० वर्ष नभएको भए नेपालको विद्युतमा यो भन्दा ठूलो क्रान्ति हुने बताए । उनले भने, ‘माओवादीले कति वटा ट्रान्समिसन लाइन पड्कायो, कतिवटा सबस्टेशन पड्कायो । विद्युत उत्पादन गर्न गएका कति व्यवसायीहरुलाई चन्दा मागेर भगायो ।’

उनले थपे, ‘१० वर्ष हिंसा नभएको भए २०७५ होइन, ०६५ मा लोडसेडिङ अन्त्य हुन्थ्यो ।’ त्यसपछि माओवादी सांसदहरुले आपत्ति जनाए । सभामुखले समय दिएपछि बोलेका माओवादी सचिव देवेन्द्र पौडेलले यस्ता शब्द प्रयोग गरेर शान्ति प्रक्रिया तलमाथि गर्न नमिल्ने बताए । सभामुखले समय दिएपछि फेरि बोलेका भट्टराईले माओवादीको हिंसालाई दोहोर्‍याए । माओवादी सांसदहरुले विरोध गरिरहे । उनीहरुले हिंसा शब्द हटाउन माग गरे । सभामुखले पनि छानबिन गर्न सचिवालयलाई निर्देशन दिए । तर भट्टराईले प्रतिवाद गर्दै भने, ‘हाम्रो राजनीतिक प्रतिबद्धतामा केको छानबिन हुन्छ ?