आजको मौसम : मौसममा सुधार, देशका केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने 

काठमाडौँ - जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ ।

आज  बिहानसम्म कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक दुई स्थानहरुमा हावा(हुरीको सम्भावना रहेको छ ।

सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।