अहिले जस्तो सर्वत्र निरासा कहिल्यै देखिएको थिएन : सांसद केसी

काठमाण्डौँ - सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले देश भ्रष्टाचार र अराजकताको दलदलमा फसेको बताएका छन् । 

आज (बुधबार) प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै केसीले यसलाई नियन्त्रण गर्न भ्रष्टाचार विरुद्धको ऐनमा ल्याउन लागिएको पाँच वर्षे हद म्याद हटाउनु पर्ने बताएका हुन् । त्यो व्यवस्थाले देशलाई थप भ्रष्ट र अराजक बनाउने केसीको धारणा छ । निरासालाई आशामा बदल्न भ्रष्टाचार नियन्त्रण आवश्यक रहेको उनले बताए । केसीले समाजको हरेक क्षेत्रमा निराशा र अराजकता बढेको भन्दै चिन्ता व्यक्त गरे ।

‘देश निरन्तर रूपबाट अराजकता, निराशा र विद्रोह तर्फ गइरहेको छ, मेरो राजनीतिक जीवनमा एकैचोटी सबै क्षेत्रमा यस्तो निरासा देखेको थिइनँ’, उनले भने । केसीले अहिले देशमा ठूला दुई राजनीतिक दल मिलेर सरकार बनेको बताउँदै यो सरकार असफल भयो भने देश नै असफल हुने बताए । त्यसैले मुखले होइन व्यवहारले काम गरेर देखाउन आवश्यक रहेको केसीको धारणा छ ।

‘भ्रष्टाचार निवारण ऐनमा पाँच वर्षे हदम्याद दुर्भाग्यपूर्ण छ । कसको निम्ति ल्याएको हो भने भ्रष्टाचारलाई प्रोत्साहन गर्न ल्याइएको हो । सरकार दण्डविहीनता र भ्रष्टाचार विरोधी छ भने यो विधेयक तत्कालन फिर्ता गरोस् । होइन सक्दैन रक्षा गर्न भने भने सदनलाई विवेकको मत दिने अधिकार दिइयोस् । सभामुखले त्यसमा अग्रसरता लिन आग्रह गर्दछु,’ उनले भने ।

उनले अहिले जनतामा निरासा बढेको बताए । त्यो निरासा एक–दुई जनालाई थुनेर चिर्न नसकिने बताए । ‘सत्तामा बस्नेले एक–दुई जना पक्राउ गरौंला, थुनौंला भनेर हुँदन । आगोका झिल्को सानो हुँदैन । अन्यन्त विनाशक हुन सक्छ । त्यतातर्फ सरकारको ध्यानाकर्षण गराउँदछु,’ उनले भने ।