धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द

काठमाडौँ - नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि जारी प्रक्रिया नै रद्द भएको छ । प्राप्त आवेदनमा पाँच जना दाबेदार छनोट भए पनि त्यसपछिको प्रक्रिया पूरा नै हुन नसकेपछि प्रक्रिया नै रद्द हुन पुगेको हो । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले सूचना प्रकाशन गर्दै सबै प्रक्रिया रद्द भएको जनाएको हो ।

अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठ संयोजकत्वमा बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो । तर अन्तिम ५ जनाको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण विवादमा परेसँगै समितिले ३ जनाको नाम अर्थ मन्त्रालयमा पठाउन सकेन । पाँचमध्ये तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने योजना थियो । तर, प्रतिस्पर्धीमध्ये मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ मात्रै अन्तर्वार्ताका लागि पुगेका थिए । बाँकी तीन प्रतिस्पर्धी नवराज अधिकारी, चिरञ्जिवी चापागाई र कृष्णबहादुर कार्की अन्तर्वार्ताका लागि गएनन् । त्यसपछि छनोट प्रक्रिया विवादित बनेको हो ।