इंग्ल्यान्डलाई हराउँदै भारत १० वर्षपछि विश्वकपको फाइनलमा

काठमाण्डौँ - साविक विजेता इंग्ल्यान्डलाई हराउँदै भारत आईसीसी टी–२० विश्वकपको फाइनल प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत १० वर्षपछि फाइनलमा प्रवेश गरेको हो । भारत यसअघि सन् २००७ र २०१४ मा विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । २००७ मा उपाधि जित्दा २०१४ मा भने भारत श्रीलंकासँग पराजित भएको थियो ।

भारतले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले १६.४ ओभरमा सबै विकेट गुमाएर १०३ रनमात्र बनाउन सक्यो ।
इंग्ल्यान्डका ह्यारी ब्रुकले २५ रन बनाए । कप्तान जस बटलरले २३, जोफ्रा आर्चरले २१ र लियम लिभिङस्टोनले ११ रन थपे । यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका अक्षर पटेल र कुलदीप यादवले समान तीनरतीन विकेट लिए । जसप्रित बुमराहको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७१ रन बनाएको थियो । 
भारतका कप्तान रोहित शर्माले ३९ बलमा ५७ रन बनाए । सूर्यकुमार यादवले ३६ बलमा ४७ रन थपे ।
यसबाहेक, हार्दिक पन्ड्याले २३ र रविन्द्र जडेजाले १७ रन जोडे ।
इंग्ल्यान्डका क्रिस जोर्डनले तीन विकेट लिए । रिस टोप्ली, जोफ्रा आर्चर, साम करन र आदिल राशिदले समान एक विकेट हात पारे ।
वर्षाले प्रभावित बनेको खेल निर्धारित समयभन्दा करिब एक घण्टापछि शुरू भएको थियो ।

भारतले अब उपाधिका निम्ति दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल शनिबार राति नेपाली समयअनुसार सवा ८ बजेदेखि शुरू हुनेछ ।