रोकिराखेको बसमा ठक्कर खाँदा माइक्रो बसका आठ यात्रु घाइते  

काठमाडौँ । मुग्लिन-नारायणगढ सडकको रामनगरमा बिहीबार बिहान माइक्रोबस दुर्घटना हुँदा आठजना घाइते भएका छन्। 

चितवनको भरतपुर-१ रामनगरमा ट्राफिक प्रहरीले जाँचका लागि रोकिराखेको बागमती प्रदेश ०१-००६ ख ४८८८ नम्बरको बसमा ग २ ख २२५ नम्बरको माइक्रोबस अनियन्त्रित भई ठक्कर खाएको हो।

दुर्घटनामा परी  चितवन भरतपुर मनपा-११ की ४४ वर्षीया मिना सापकोटा,  भरतपुर-५ का ४० वर्षीय केशर साह,  भरतपुर-२१ की ४४ वर्षीया मेनका तामाङ , भरतपुर-१४ का ५३ वर्षीय हरिराम ढकाल र  ५१ वर्षीया धनुमाया ढकाल,  भरतपुर-२ का ३० वर्षीय काशी उपरकोटी,  भरतपुर-२० का ४७ वर्षीय तुलबहादुर घले र गोर्खा सिरानचोक-१ की २६ वर्षीया प्रीति रम्तेल घाइते भएका हुन्। 

उनीहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटनामा स्थानीय कमलबहादुर  न्यौपानेको घरमा सञ्चालित मोटरसाइकल ग्यारेजमा समेत क्षति पुगेको छ।