चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाका माध्यमबाट अन्तर्राष्ट्रिय एकता प्रवर्द्धन भएको बताएका छन् ।

आज ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी( २०८०’ को  समापन गर्दै उनले नेपालको कलासंस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न महत्त्वपूर्ण योगदान गरेको धारणा राखेको प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रधानमन्त्री दाहालले कलाकारिताका माध्यमबाट देशको प्रतिष्ठा बढाउन कलाकारहरुले ठूलो योगदान गरेको बताए ।

प्रधानमन्त्रीले भने, ‘यहाँका हिमाल, नदीनाला, छहरा, जङ्गल सबै नै चित्रकलामय रहेको छ। यसलाई पारखीहरूबाट ठोस आकार दिएर जब चित्रकलामा रुपान्तरण गरिन्छ, त्यसले दिने सन्देश धेरै नै शक्तिशाली हुन्छ भन्ने मैले महसुस गरेको छु।’

उनले चित्रकला प्रदर्शनका लागि विश्वका कलाकारले तयार पारेको कलाले नेपालको भूगोल र संस्कृति एवं परम्परा चित्रमार्फत् देखाइएको आफूले पाएको बताए।

काठमाडौँको आर्ट काउन्सिलमा यही फागुन ५ गतेदेखि सुरु भएको प्रदर्शनीमा विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्र समावेश गरिएको आयोजकले जनाएका छन्।