राष्ट्रपति निर्वाचन अघि नै मन्त्रिपरिषद पुनर्गठन गर्ने प्रचण्डको तयारी, लगत्तै विश्वासको मत लिने

काठमाडौं - सोमबार नेकपा एमाले सरकारबाट बाहिरिएसँगै  १६ वटा मन्त्रालय खाली भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीपछि सोमबार एमाले पनि सरकारबाट बाहरिएसँगै १६ मन्त्रालय मन्त्रीविहीन बनेका हुन्।

एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ। यसअघि राप्रपाले पनि समर्थनसमेत फिर्ता लिएको थियो। रास्वपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।

सरकारमा सहभागी दल धमाधम बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति चुनाव अघि नै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन्।

सरकारलाई समर्थन गर्ने दललाई सहभागी गराएर प्रचण्डले फागुन २६ अगाडि नै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका हुन्।

अब कांग्रेस, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुने बताइएको छ।  सरकार पुनर्गठनसँगै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारीसमेत थालेका छन्।

अहिले सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सारथि उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्मा, खानेपानीमन्त्री अब्दुल खान, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र पर्यटन राज्यमन्त्री सुशीला सर्पाली ठकुरी मात्रै छन्।

सरकार गठन हुँदैदेखि दुई मन्त्रालय खाली थिए। वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएका थिए। नागरिकतासम्बन्धी विवादमा रास्वपा सभापति रवि लामिछाने दोषी ठहर भएपछि रिक्त गृह मन्त्रालयको जिम्मेवारीसमेत उनले सम्हाल्दै आएका छन्।