अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्धारा कम्प्युटर इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी कार्यालयका तत्कालीन कम्प्युटर इन्जिनियरविरुद्ध  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

राहदानी कार्यालयका तत्कालीन इन्जिनियर प्रदीप भट्टराईले नियमित तरिकाले प्राप्त हुने राहदानीका लागि समेत ३४ हजार घुस लिएको देखिएकाले उनीविरूद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

भट्टराई  राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको लागि राहदानी विभागमा खटाइएका कम्प्युटर इन्जिनियर हुन्। 

आयोगले राहदानी बनाउन घुस दिने सुमी धामी भनिने सुमित्रा सापकोटाविरूद्ध पनि मुद्दा दायर गरेको छ। सापकोटाले भट्टराईलाई घुस लिन कसुरजन्य कार्य गर्न दुरुत्साहन दिएको पुष्टि भएको आयोगले जनाएको छ।

उनीहरूविरूद्ध ३४ हजार विगो र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरेको छ।