नेपाल र चीन बीचको भूगोललाई चुनौति नभइ अवसरका रुपमा लिएर अघि बढ्नुपर्छ : महासचिव पोखरेल  

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल र चीन बीचको भूगोललाई चुनौति नभइ अवसरका रुपमा लिएर अघि बढ्नुपर्ने बताए ।

आइतबार काठमाडौँमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टीहरुबीचको छलफलका क्रममा महासचिव पोखरेलले  सबै नाकालाई आवागमन र व्यापारका लागि सहज बनाउनसके दुई पक्षीय सम्बन्धलाई फराकिलो बनाउने बताए ।

चिनियाँ प्रतिवद्धताका कार्यक्रमहरु छिटो कार्यान्वयन भएको आफूहरुले हेर्न चाहेको बताए उनले परियोजना पहिचानको विषय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । उनले नेपाल र चीनका बीचमा उच्चस्तरमा भएका भ्रमणले दुई पक्षिय सम्बन्धलाई बलियो बनाएको बताए ।  उनले विकासको चरणमा रहेको नेपालले बिआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना रहेको जिकिर गरे । 

महासचिव पोखरेलले बिआरआईले नेपाल र चीनलाई सडक, रेल, हवाई तथा सञ्चार प्रविधिबाट जोड्ने उद्देश्य राखेको बताउँदै ठूला पूर्वाधार विकासको जग हाल्दै गरेको नेपालका लागि हिमालय वारपार बहुपक्षीय सम्पर्क सञ्जाललाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बताए ।  उनले कोभिड १९ का बेलामा बन्द भएका उत्तरी सीमानाकाहरु नियमित सुचारु गर्न पनि आग्रह गरे ।