सरकारले आर्थिक सुधार र भ्रष्टाचार नियन्त्रणमा अझै प्रभावकारी कदम चाल्नुपर्छः माधव नेपाल

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)  का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले मुलुकको आर्थिक क्षेत्रको सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासनको निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने बताएका छन् ।

आइतबारबाट काठमाडौँमा शुरु भएको पार्टीको केन्द्रीय परिषद् बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

अध्यक्ष नेपालले मुलुकमा विद्यमान व्यवस्थाविरुद्ध प्रतिगामी तत्वहरुले विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पार्नका लागि पनि सरकार र सत्तारुढ गठबन्धनमा आवद्ध राजनीतिक दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, संविधानको रक्षा र आवश्यक्ता अनुसार परिमार्जन देशको अर्थतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताए ।

उनले गठबन्धन दलहरुले तयार पारेका न्युनतम नीति तथा कार्यक्रमलाई अझ गतिका साथ कार्यान्वयनमा लैजान पनि सरकारलाई सुझाव दिए । अध्यक्ष नेपालले राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा सन्तुलित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउन पनि सरकारलाई सचेत गराए । उनले जलवायु परिवर्तनले पारेका असरहरुलाई न्युनीकरण गर्नका लागि सरकारले गम्भिरतापूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याए ।