बाक्लो हुस्सुको कारण ३ दिनदेखि धनगढी विमान स्थलको उडान प्रभावित

काठमाडौँ । बाक्लो हुस्सुको कारण गएको ३ दिनदेखि धनगढी–काठमाडौँको उडान प्रभावित भएको छ । गत शुक्रबारदेखि लागेको बाक्लो हुस्सुको कारण उडान प्रभावित भएको धनगढी विमान स्थल कार्यालयका वरिष्ठ अधिकृत दीपक भट्टले जानकारी दिए ।

उनको अनुसार  शुक्रबार धनगढी–काठमाण्डौंको एउटा मात्र उडान भएको थियो भने शनिबार सबै उडान ठप्प भएको थियो । आज आइतबार पनि बिहानैदेखि अकास नखुलेकोले दिउँसो मात्रै उडानबारे थाहा हुने बताइएको छ ।

धनगढीबाट उडान भर्नका लागि १७०० मिटरसम्म आँखाले देखिनुपर्ने हुन्छ । तर आज १०० मिटरसम्म मात्रै देखिएको बताइएको छ । यहाँबाट बुद्ध एयरको २ र श्रीएयरको ४ वट गरी दैनिक ६ वटा उडान हुँदै आएको छ ।