काठमाडौंमा आज यस वर्षकै चिसो, तापक्रम २.२ डिग्री सेल्सियस मापन

काठमाडौँ - काठमाडौं उपत्यकामा यो हिउँद अवधिमा अहिलेसम्मकै बढी जाडो महसुस भएको छ । आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको छ ।

‘आज बिहान काठमाडौंको न्यूनतम तापक्रम २.२ रेकर्ड भएको छ । यो वर्षमा यो अहिलेसम्मकै कम रेकर्ड हो,’ जल तथा मौसम विज्ञान विभागका मौसमविद गोविन्द झाले भने । गत बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो ।  तत्काल हिउँदे वर्षाको सम्भावना नभएकाले जाडो अझै बढ्न सक्ने पूर्वानुमान छ । तराई मधेशका अधिकांश जिल्लामा भने बाक्लो हुस्सु कुहिरो लागेको छ ।