पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली स्थगित

काठमाण्डौँ - मासिक कम्तीमा ५० करोड नाफा सुनिश्चित गरी पेट्रोलियम पदार्थमा लागू गरिएको स्वचालित मूल्य प्रणाली अघोषित रूपमा स्थगित गरिएको छ । गत ३१ असारदेखि  लागू गरिएको स्वचालित मूल्य प्रणालीअन्तर्गत पेट्रोलमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत प्रतिलिटर नाफा सुनिश्चित गरिएको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यास परल मूल्यमा बिक्री गर्ने गरी कार्यविधि बनेको छ । यस्तो कार्यविधिका कारण अन्तर्राष्ट्रिय बजारभाउ जतिसुकै प्रतिकूल भए पनि आयल निगमलाई नियमित नाफा हुने परिस्थिति सिर्जना गरिएको छ ।

तर, दुई महिनायता अन्तर्राष्ट्रिय बजारमा खाना पकाउने एलपी ग्यासको मूल्य अकासिन थालेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तत्कालका लागि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने गरी तयार गरिएको कार्यविधि कार्यान्वयनमा रोक लगाएको छ ।

कार्यविधिअनुसार मूल्य समायोजन हुन छाडेपछि अहिले आयल निगमले ग्यासमा प्रतिसिलिन्डर तीन सय रुपैयाँ नोक्सान व्यहोरिरहेको छ । तर, यस्तो नोक्सानी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको नाफादरबाट ‘मेकअप’ गरिएको छ । आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले पनि पछिल्लो समय कार्यविधिलाई पूर्ण पालना नगरी मूल्य समायोजन गर्न थालिएको स्विकारे ।

‘कार्यविधि लागू गर्दा सबै कुरा मिलाउन नसकिने भयो । त्यसैले तत्काललाई जुनदरमा मूल्य घटबढ भएर आउँछ, त्यसमा खासै नाफा नराखी उपभोक्ता मूल्य निर्धारण गर्न थालिएको छ,’ उनले भने । आयल निगम ऋण र बक्यौताबाट मुक्त भइसकेकाले आगामी दिनमा नाफाबापत ठूलो रकम नचाहिने पनि उनले बताए ।