जाडो मौसममा छालाको सुरक्षा कसरी गर्ने ? जानौ केही उपायहरु

काठमाण्डौँ - जाडो मौसममा शरीरका छाला सुक्खा हुने, कपालमा चाया पर्ने, हाँगा फाँट्ने, छाला रातो हुने, फुट्ने, खस्रो हुनेलगायत छालासम्बन्धी समस्या देखिन्छन्। त्यसैले जाडोमा छाला र कपालको विशेष हेरचाह गर्नुपर्छ।

विशेषगरी संवेनदशील छाला भएकालाई यस्तो समस्याले झनै सताउँछ। जाडोमा यस्ता छालासम्बन्धी समस्याबाट जोगिन विभिन्न उपाय अपनाउन सकिन्छ।

जाडोमा छाला सुख्खा हुनेबित्तिकै धेरैजसोले जे पायो त्यही क्रिम दल्छन्। त्यसो गर्नाले छालाको समस्या समाधान हुनुको साटो झन् बढेर जान्छ। कतिपयलाई छालाको एलर्जीसमेत हुन्छ। त्यसैले जाडोमा मोइस्चराइजर छनोट गर्दा निकै विचार पुर्‍याउनुपर्छ। सबैको छाला एकै किसिमको नहुने भएको आफ्नो छालाअनुसारको म्वइस्चराइजर छनोट गर्नुपर्छ।

जाडोमा धेरैले सनस्क्रिन प्रयोग गर्दैनन्। तर, जाडो होस् वा गर्मी छालाको सुरक्षाको लागि अनिवार्य रुपमा सनस्क्रिनको प्रयोग गर्नुपर्छ। यसले छालालाई सूर्यको किरणबाट बचाउँछ।

हात धुँदा प्रयोग गर्ने साबुन पनि नरम खालको प्रयोग गर्नुपर्छ। जाडोमा सकेसम्म एन्टी–ब्याक्टेरियल साबुन प्रयोग गर्नु हुँदैन। यस्तो साबुन कठोर हुन्छ, जसले हात सुख्खा बनाउँछ र फुटाउँछ। त्यसैले जाडोमा सकेसम्म म्वइस्चराइजरयुक्त साबुन प्रयोग गर्नुपर्छ। यसले हातलाई नरम बनाउँछ।

जाडो महिनामा हातको छाला जोगाउन पञ्जा लगाउनुपर्छ। विशेषगरी स्कुटर वा बाइक चालकले हातको छाला सुक्खा हुनबाट जोगाउन अनिवार्य रुपामा पञ्जा लगाउनु पर्छ। यसो गर्नाले चिसो हावाले छालालाई हानी पुर्‍याउन पाउँदैन।

जाडोमा चिसो हुन्छ भनेर धेरैजना पानी पिउन अन्कनाउँछन्। तर, छालाको स्वास्थ्यको ध्यान दिनेले प्रशस्त पानी पिउनुपर्छ। जाडो होस् वा गर्मी महिना छाला स्वस्थ र चम्किलो राख्नका लागि पानीले निकै ठूलो सहयोग गर्छ।

त्यस्तै, जाडो महिनामा धेरैको तातो पानीले नुहाउने बानी हुन्छ। यो गलत बानी हो। जाडो महिनामा धेरै तातो वा चिसो पानीले नुहाउँदा छालालाई असर गर्छ। जाडो महिनामा जहिल्यै मनतातो पानीले नुहाउनुपर्छ। नुहाएपछि हल्का भिजेको शरीरमा नरिवलको तेल वा लोसन लगाउनु पर्छ। यसले पनि शरीरलाई सुख्खा हुनबाट बचाउँछ। कसैको निकै सुख्खा छाला छ भने नुहाउने पानीमा नुन राखेर नुहाउँदा पनि छाला सुख्खा हुन पाउँदैन।