कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड बुधवार यूएई जाने

काठमाण्डौँ - जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पर्सि बुधवार यूएईको दुबई जाने भएका छन् ।

सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड दुबई जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोप–२८ मङ्सिर १४ देखि २६ गतेसम्म यूएईको दुबईमा हुँदै छ ।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डकी छोरी गङ्गा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरू छन् । प्रधानमन्त्री प्रचण्डले १६ गते शनिवार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । १६ गते नै प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशहरूको एजेन्डा उठाउन ‘हिमालको पुकार जलवायु सङ्कटबाट हामीलाई कसले बचाउने छ ? भन्ने शीर्षकमा कार्यक्रम आयोजना गर्नु हुनेछ ।