पार्टीबाट निस्कासित मुकुलले भने, ‘न्यायिक निकायले कारबाही बदर गरेपछि रविले राजीनामा दिनुपर्छ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि डा मुकुल ढकालले न्यायिक निकायले आफूमाथिको कारबाही बदर गर्ने दाबी गरेका छन् ।

मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले साधारण सदस्यबाटै निष्कासन गरेपछि यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै  रास्वपाबाट निष्कासन गर्ने अधिकार नभएको भन्दै न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि नैतिकताको आधारमा सभापति लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्ने तर्क उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लबलाई छैन । न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि , नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनपर्छ ।’

उनले थपेका छन्, ‘आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन् । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्‍याउने दुस्साहस गर्दै छन् । सम्बन्धित निकायको ध्यान जाओस् । र फेरी पनि नैतिक रूपले पतित रविलाई नैतिकता कै प्रश्न, अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस्, एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।’