प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्न : प्राधिकरणको रक्षा तपाईंको जिम्मेवारी हो कि होइन ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नभई प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रष्टीकरण सोध्नुपर्ने बताएका छन् ।

उनले प्रतिनिधिसभाको बैठकमा भने, “प्राधिकरणको रक्षा तपाईंको जिम्मेवारी हो कि होइन ? माफियाको पक्षमा लाग्दा संकोच लाग्दैन ? यसमा प्राधिकरणको नेतृत्वलाई होइन प्रधानमन्त्रीलाई नै स्पष्टीकरण सोध्न चाहन्छु ।”

उनले यही हो दुई तिहाइको नियत र नियती ? भन्दै प्रश्न गरेका छन् । कतैबाट नभएर प्रधानमन्त्रीले फेसबुकबाट प्रचार थालेको बताए ।

“कतैबाट नभएपछि प्रधानमन्त्री फेसबुकबाट प्रकट हुनुभएको छ,” उनले भने, “२२ अर्बको कुरा नोट गरियोस् । प्रधानमन्त्रीको नियत सही छ भने क्याबिनेटबाट पास होस् २२ अर्बको प्रस्ताव ।”