अवैध सुनसहित विमानस्थलबाट दुई नेपाली पक्राउ  

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट अवैध सुनसहित दुई जना नेपाली पक्राउ परेका छन् ।

सोमबार दिउँसो अवैध रूपमा संकलन गरी लैजान लागेको सुन जस्तो देखिने पहेँलो धातु करिब ८१ ग्राम सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नवलपरासी बर्दघाट नगरपालिका-४ घर भएका २७ वर्षीय प्रशान्त गैरे र सप्तरी सुरूङ्गा नगरपालिका-३ घर भएका ४१ वर्षीय सन्तोष कुमार कुँवरलाई पक्राउ गरेको छ ।

हिमालयन एयरलाइन्सको उडानद्वारा कतारबाट काठमाडौँ आएका प्रशान्तबाट सन्तोषले अवैध रूपमा संकलन गरी लैजान लागेको उक्त धातु फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।