आज करिब ११२ अंकले घट्यो नेप्से‚ साढे १८ अर्ब रुपैयाँ बराबरको कारोबार

काठमाडौँ । मंगलबार पनि सेयर बजार भारी अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १११.९६ अंकले घटेको हो । सो गिरावटसँगै नेप्से २७८२ अंकमा कायम भएको छ ।

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ । अघिल्लो दिन १९ अर्ब ७४ करोडको कारोबार भएको थियो भने आज ३३० स्क्रिप्सको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता सेयर १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० रुपैयाँमा कारोबार भए । उच्च अंकले घटेर बजारमा तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । तारागाँउ रिजेन्सी होटल,आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र दोलती पावरको सेयर १० प्रतिशतले बढेको हो ।

थ्री स्टार हाइड्रोपावरको सेयर ९.८१ प्रतिशतले बढ्दा कर्णाली डेभलपमेन्ट बैंकको सेयर ९.४५ प्रतिशतले बढ्यो । यसदिन ६५ अर्बको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो ।

अपी पावरको ५१ अर्ब मूल्यको सेयर कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको ४५ करोड,नेपाल फाइनान्सको ४१ करोड र नेपाल इन्फ्रास्टक्चर बैंकको ३३ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।

होटल्स एन्ड टुरिजम समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक राताम्मे देखिएका छन् । आज फाइनान्स समूहको उपसूचक सर्वाधिक ४.६९ प्रतिशतले घट्यो । कारोबारमा आएका स्टक्समध्ये २० वटाको मूल्य बढ्दा २२३ वटाको घट्यो भने १ स्टक्सको मूल्य भने स्थिर रह्यो ।