मौसम पुर्वानुमान : केही ठाउँमा ठूलो वर्षा, सतर्क रहन आग्रह 

काठमाण्डौँ - देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पछिल्लो छ घण्टामा सबैभन्दा धेरै अछामको मंगलसेनमा ८७ दशमलव ६ मिलिमिटर पानी परेको छ । मंगलसेन र दैलेखको डण्डामा ठूलो पानी परेकाले त्यस क्षेत्र आसपासका खोलानालामा बाढी आउने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

यस्तै सुनसरीको सुनसरी खोलामा पानीको सतह खतराको तहभन्दा माथि पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वदेखि पश्चिमसम्म नै मनसुनी वायु सक्रिय भएकाले धेरै ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो ओखलढुङ्गा, सङ्खुवासभा, सुनसरी, उदयपुर, इलाम, धनकुटा, लमजुङ, कास्की, मोरङ, झापा, रोल्पा, दैलेख र बागलुङमा बाढी आउने गरी पानी परेको थियो । आज पनि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।