ढल्केबर इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौँ - देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा ढल्केबर इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर इनरुवा खण्ड सञ्चालनमा आएको छ ।

धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मंगलबार बेलुका साढे सात बजे चार्ज गरी सञ्चालनमा ल्याइएको हो । ढल्केबर र इनरुवा ४०० केभी सबस्टेसनमा जोडेर प्रसारण लाइन चार्ज गरिएको छ ।

ढल्केबर इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट ४०० केभीबाट विद्युत् प्रसारण सुरू भएको छ । यसअघि ढल्केबर(मुजफ्फरपुर भारत अन्तरदेशीय प्रसारण लाइनबाट ४०० केभीमा विद्युत् आयात निर्यात हुँदै आएको थियो । अब देशभित्र पनि ४०० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरू गरिएको हो ।