'काठमाडौँ विश्वको पहिलो प्रदूषित शहर हुनु चिन्ताको विषय हो' : अध्यक्ष ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं शहर विश्वको पहिलो प्रदूषित शहरमा पर्नु चिन्ताको विषय भएको बताएका छन् । अध्यक्ष ओलीले काठमाडौं शहर प्रदूषणको सूचीको पहिलो नम्बरमा देखिएको भन्दै तत्काल कदम चाल्नुपर्ने बताए ।

‘हिजो ट्वीटर स्क्रोल गर्दै जाँदा  ‘वर्ल्ड अफ स्टाटिस्टिक्स’  भन्ने ट्वीटर ह्यान्डलबाट आएको एउटा ट्वीटमा आँखा अडिए । त्यसमा विश्वका प्रदुषित शहरको सूचीको पहिलो नम्बरमा हाम्रो काठमाडौंको नाम थियो । ५० लाख भन्दा बढी मानिस बस्ने यस शहरका लागि स्वास्थ्यको दृष्टिकोणबाट यो चिन्ताको विषय हो । तर यस विषयमा चिन्ता भन्दा बढी चिन्तन गर्नु आवश्यक छ ।’ मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष ओलीले भनेका छन्, ‘काठमाडौं महानगर पालिकाका प्रमुख, उपप्रमुखले पनि काठमाडौंलाई यसबाट बचाउन पक्कै केही गर्दै हुनुहुन्छ । यसमा प्रदेश र संघ सरकारहरुको पनि भूमिका आवश्यक छ । यसको लागि हामी सबै मिली यो वा त्यो नभनी तत्काल कदम चालौं । हामी सबैले घर भित्र वा बाहिर वातावरणलाई जीवन्त राख्न आ(आफ्नो ठाउँबाट जस्तो सकिन्छ त्यस्तो भूमिका खेलौं । प्रदुषणबाट बच्न घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाऔं ।’