बिवाहको बहानामा मानव तस्करी गरेको आरोपमा एक जना पक्राउ  

काठमाडौँ । बिवाहको बाहनामा चीनमा मानव तस्करी तथा बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह घर भएकी ३१ वर्षीया सुन्दरी राई छिन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

उनलाई मंगलबार पक्राउ गरी सात दिन हिरासतमा राख्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ ।

उनले फेसबुकको मेसेन्जरमार्फत एक जना महिलासँग कुराकानी गरेकी थिइन् । आफू चिनियाँ पुरूषसँग विवाह गरी चीनमा आएको र १० वर्षदेखि बस्दै आएको भनेर प्रलोभनमा पारेकी थिइन् ।

चीनमा राम्रै सेवासुविधा हुने र पीडित महिलालाई पनि विवाह गरी चीन आउन उनले प्रस्ताव राखेकी थिइन् । विवाहका लागि तयार भएका एक जना धनी चिनियाँ पुरूषलाई चिनेको भनेर प्रलोभनमा पारी ती महिलालाई विवाह गर्न राजी बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

राजी भएसँगै उनले ती महिलालाई काठमाडौंको ठमेलमा चिनियाँ नागरिकसँग भेट गराइदिएका थिए ।

२०८० फागुन १० गते ती महिलालाई भिजिट भिसामा चीन पुर्‍याएको पाइएको थियो । चीन पुगेपछि ती महिलाले आफू १ लाख ५० हजारमा बिक्री भएको थाहा पाएकी थिइन् । चिनियाँ नागरिकले उनलाई घरमै बन्धक बनाएर शारीरिक र मानसिक यातना दिँदै यौन शोषण समेत गरेको पीडितको भनाइ छ ।

त्यसपछि चीनस्थित नेपाली दूतावासको समन्वयमा उनी ९ असारमा नेपाल फर्केर ब्यूरोमा जाहेरी दिएकी थिइन् ।

पीडितको जाहेरीपछि ११ असारमा सुन्दरी राईलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान गर्न व्यूरोले ७ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ ।

यस घटनामा चिनियाँ नागरिक समेत संलग्न रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।