पुर्वराजालाई झलनाथ खनालको सुझाव: राप्रपाको अध्यक्ष बन्नुस्, मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किंदैन’

काठमाडौँ - पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पूर्वराजाको गतिविधिबाट लोकतन्त्र कमजोर हुने स्थिति नरहेको बताए ।

पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र सार्वजनिक कार्यक्रममा सहभागी हुने र मन्तव्य दिने गर्दै आइरहेका छन् । उनी इटहरी, धनगढी लगायतका ठाउँमा आयोजित नागरिक अभिनन्दनमा सहभागी भएर भाषण गरेका थिए ।

‘हाम्रा पूर्वराजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दैछन् । अहिले सामान्य जनता हुन् । उनी मन्दिरमा जान्छन्, मन्दिरमा आस्थाका मानिस छन्, त्यो ठाउँमा गएर भावनालाई प्रयोग गर्न जान्छन्, अभिनन्दनका कुरा छन्, एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस् । राप्रपाको अध्यक्ष बन्नुस्, वा एउटा पार्टी खोल्नुस्, त्यो लोकतन्त्रको पाटो हो, मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किंदैन’ उनले भने ।

पूर्वप्रधानमन्त्री खनालले गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरुको समीक्षा हुन जरुरी रहेको पनि बताए । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै खनालले ढोल र घण्टी अराजकताको संकेत भएको टिप्पणी गरे ।

खनालले भने, ‘यो १५ वर्षको समीक्षा गर्दै अब देशलाई अघि बढाउनुपर्छ । यी चिजलाई सच्याउन सकिएन भने देशमा अराजकता सिर्जना हुन्छ । कोही घण्टी बजाउँदै हिँड्लान्, कोही ढोल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान् । यो प्रकारको एउटा अवस्था आउँछ । ढोल र घण्टीहरु भनेका अराजकताका संकेतहरु हुन् ।’

पूर्वप्रधानमन्त्री खनालले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिए । उनले अनुसन्धानलाई कुनै बहानामा रोक्ने प्रयास भए जनताले सहन नसक्ने पनि बताए ।