लगानी सम्मेलनलाई सम्बोधन गर्ने निहुँमा अध्यादेश जारी गरेकोप्रति प्रमुख सचेतक लेखकको आपत्ति

काठमाडौँ ।  सरकारले कानुन नबनाई अध्यादेशको बाटो रोजेको भन्दै आपत्ती जनाएका छन्।

शनिबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले एक विज्ञप्ति जारी गरी संसदको गत अधिवेशनमा कानुन ल्याउन पर्याप्त समय हुँदाहुँदै अध्यादेशको बाटो रोजेकोप्रति आपत्ती जनाएको हो ।

संघीय संसदको अधिवेशन चलिरहेको अवस्थामा बाहेक तत्काल केही गर्न आवश्यक परेमा अध्यादेश जारी गर्न सक्ने संविधानको व्यवस्थाको अपव्याख्या गरी संघीय संसदको गत अधिवेशन भन्दा पनि महिनौं अगाडिदेखि तयारी प्रारम्भ भएको लगानी सम्मेलनलाई सम्बोधन गर्ने निहुँमा अध्यादेश जारी गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले आरोप लगाएका छन्।

सरकारको यो काम संविधानको अपव्याख्या हुनुका साथै संसदीय व्यवस्था र लोकतन्त्रको मर्म विपरीत रहेको कांग्रेसको तर्क छ।

लेखकद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘यस्ता कार्यले जनताको प्रतिनिधि संस्था संसदको महत्व, मर्यादा र गरिमा घट्न जाने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै कमजोर हुन्छ । नेपाली कांग्रेस सरकारले संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने गरी गरेको गैरजिम्मेवार, लोकतन्त्र र संसदीय अभ्यास विपरीत कार्यको विरोध गर्दै निन्दा गर्दछ।’