नदीमा हाम फालेका बास्तोलाको खोजी गर्न फेरि सेतीको ड्याम खोलिँदै  

काठमाडौँ । गत फागुन १८ गतेदेखि बेपत्ता रहेका पोखरा महानगरपालिका–११ का सुगम बास्तोलाको खोजीका लागि पोखरास्थित सेती नदीको ड्याम खोलिने भएको छ।

सेती नदीको ड्याम खोलिदिन परिवारका तर्फबाट अनुरोध आएपछि चैत १५ गते दिउँसो एक बजेबाट ड्याम खोल्न लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बास्तोलाले पोखरा महानगरपालिका–३ स्थित नदीपुरमा रहेको पुरानो पुलबाट सेती नदीमा हाम फाली बेपत्ता भएको भनी प्रहरीमा उद्धार तथा खोजीको लागि निवेदन परेको थियो।

सोहीअनुसार गत फागुन २२ गते सेती नदीमा पानीको बहाव बढाइ खोजतलास गर्दा उनी फेला परेनन्। सेतीमा नै हाम फालेको व्यक्ति सेतीमा नै भएको हुनुपर्ने र त्यसका लागि प्रहरीले नदीको ड्याम खोलेर खोजतलास गरिदिनुपर्ने निवेदन बास्तोलाको परिवारकोतर्फबाट प्रहरीमा आएको छ।

सोही निवेदनअनुसार पोखरा महानगरपालिका–१६ दीप स्थित सेती नदीको ड्याम खोलेर नदीमा पानीको बहाव बढाउने तयारी भइरहेको छ। ड्याम खोलेको समयमा सेती नदीमा पानीको बहाव बढ्दा नदी वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसहरू चनाखो भई काम गर्न प्रहरीले अनुरोध गरेको छ।